सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यान्वयनमा लगातार तेस्रो वर्ष पनि जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । आर्थिक वर्ष २०८२-०८३ मा स्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा डुडुवाले कुल ७३.७ अंक प्राप्त गर्दै जिल्लामा प्रथम स्थान हासिल गरेको हो ।
स्वास्थ्य सेवामा प्रभावकारी कार्यसम्पादन गर्दै आएको डुडुवा लगातार उत्कृष्ट बन्दै गएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार गाउँपालिकाले स्थापना भएदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएको छ । पछिल्ला नौ वर्षमा दुई पटक दोस्रो र तेस्रो स्थानमा रहे पनि त्यसपछि नियमित रूपमा प्रथम हुँदै आएको उनले बताए ।
जिल्लामा प्रथम भएको डुडुवा गाउँपालिकालाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्टताको प्रमाणपत्रसहित सम्मान गरिन् । त्यस अवसरमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सीताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेले जानकीमा आयोजना गरेको ‘जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम’ मा उत्कृष्ट पालिकालाई सम्मान गरिएको हो । स्वास्थ्य सेवा तथा कार्यक्रमको कार्यसम्पादनका आधारमा डुडुवाले जिल्लाका अन्य पालिका भन्दा बढी अंक प्राप्त गरी सर्वोत्कृष्ट भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले जानकारी दिइन् ।
उनका अनुसार पालिकाहरूको मूल्याङ्कन स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न २८ वटा सूचक तथा स्वास्थ्य कार्यालयबाट गरिएको समग्र मूल्याङ्कनका आधारमा गरिएको हो । डुडुवा गाउँपालिकाले विगतदेखि नै स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै ‘घरघरमा स्वास्थ्य सेवा’ अभियान सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले हाल पाँच स्थानमा निःशुल्क प्रयोगशाला सेवा, पाँच शय्याको आधारभूत अस्पताल, ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार सेवा, दुई वटा एम्बुलेन्स तथा सबै क्षेत्रमा सुविधासम्पन्न आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी टाढा तथा स्वास्थ्य सेवाबाट वञ्चित गाउँहरूमा थप स्वास्थ्य एकाइ स्थापना, सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन, नेपाल सरकारले उपलब्ध गराउने औषधि बाहेक मधुमेह, उच्च रक्तचाप लगायत जटिल रोगका लागि थप निःशुल्क औषधिको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । गाउँघर क्लिनिक, नियमित खोप, प्रसूति सेवा तथा स्वास्थ्य समस्या देखिने बित्तिकै घरमै स्वास्थ्यकर्मी पुगेर सेवा दिने व्यवस्था पनि सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम गिरीले बताए । स्वास्थ्य कार्यालयका अनुसार ७० अंक प्राप्त गर्दै जानकी गाउँपालिका दोस्रो र ६९.८९ अंकसहित नरैनापुर गाउँपालिका तेस्रो भएका छन् । राप्तीसोनारी गाउँपालिका चौथो, खजुरा गाउँपालिका पाँचौँ, कोहलपुर नगरपालिका छैटौँ, बैजनाथ गाउँपालिका सातौँ र नेपालगन्ज उपमहानगरपालिका आठौँ स्थानमा रहेका छन् ।
बुधबारदेखि सुरु भएको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी लगायतको सहभागिता रहेको थियो ।