नरैनापुरमा अन्तरपालिका विपद् समन्वय बैठक, स्रोत व्यवस्थापनमा जोड

बिहीबार, भदौ २५, २०८३

नरैनापुर। बाँकेका स्थानीय तहबीच विपद् व्यवस्थापनमा समन्वय र सहकार्य बढाउने उद्देश्यले अन्तरपालिका समन्वय बैठक नरैनापुर गाउँपालिकामा सम्पन्न भएको छ।

बैठकको छैटौँ संस्करण नरैनापुर गाउँपालिकाको आयोजनामा भदौ २५ गते सम्पन्न भएको हो। बैठकमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।

विशेषगरी विपद्का समयमा आवश्यक पर्ने स्रोत–साधनको व्यवस्थापन, परिचालन तथा उपलब्ध स्रोतको प्रभावकारी उपयोगमा जोड दिइएको थियो। स्थानीय तहहरूबीच आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै विपद्का बेला आवश्यक स्रोत तथा जनशक्ति संयुक्त रूपमा परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो।

बैठकले विपद्का समयमा स्थानीय तह, जिल्ला प्रशासन तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्दै संयुक्त रूपमा विपद् व्यवस्थापनका कार्य अघि बढाउने सातबुँदे साझा प्रतिबद्धता तथा कार्ययोजना पारित गरेको छ।

बैठकमा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगर प्रमुख  पूर्ण आचार्य,  प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी प्रमुख भीमबहादुर चन्दलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुखहरु सहभागी थिए।

त्यस्तै, राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित बाँकेका सबै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा विपद् सम्पर्क व्यक्तिहरूको पनि बैठकमा सहभागिता रहेको कार्यक्रमको सञ्चालन नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले गरेका थिए।

आगामी अन्तरपालिका समन्वय बैठक आयोजना तथा अध्यक्षता गर्ने जिम्मेवारी बैजनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २०:१५
प्रतिक्रिया दिनुहोस्