सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको ओमानको टोली २८.१ ओभरमा ६० रनमै समेटिएपछि नेपाल ८७ रनले विजयी भएको हो ।
ओमानका लागि जतिन्दर सिंहले २५ रन बनाउँदा जितेन रामानन्दीले १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको जितमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए । रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिएपछि ओमानको इनिङ्स लामो समय टिक्न सकेन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । सुरुवातमै दबाबमा परेको नेपालले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने ३६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो ।
त्यसपछि दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले सम्हालिएको ब्याटिङ गर्दै ९३ रनको महत्वपूर्ण साझेदारी गरे । दीपेन्द्रले ५१ रन तथा बसिरले ४७ रन बनाए । देव खनालले १३ र आसिफ शेखले ११ रन जोडे ।
ओमानका जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । हस्नैन शाहले ८।४ ओभरमा २८ रन दिँदै ३ विकेट हात पारे । मुहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए ।
सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि समेत छनोट भएको छ । अब नेपालले उपाधिका लागि यूएईसँग शनिबार फाइनल खेल्नेछ फाइनलमा यूएईलाई पराजित गर्न सके नेपाल एसिया कपका लागि समेत छनोट हुनेछ ।