नेपालगञ्जका दर्जनबढी छाडा पशुचौपायालाई नियन्त्रणमा लिएर कान्जीहाउस पुर्‍याइयो

मंगलबार, भदौ २३, २०८३

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र छाडा अवस्थामा रहेका दर्जनबढी पशुचौपाया नियन्त्रणमा लिएर कान्जीहाउसमा व्यवस्थापन गरेको छ ।

उपमहानगरपालिकाका अनुसार आज बिहान ६ बजेदेखि सञ्चालन गरिएको अभियानका क्रममा वडा नं. २१ बिर्तास्थित कान्जीहाउसमा १८ छाडा पशुचौपाया संकलन गरी राखिएको हो ।

संकलन गरिएका पशुचौपायामध्ये २ वटा बाच्छारबाछी तथा १६ वटा घोडा, घोडी र बछेरा रहेका छन् । 

नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीका अनुसार नगर क्षेत्रमा छाडा पशुचौपायाका कारण सडक आवागमन तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले उपमहानगरपालिकाले नियमित रूपमा नियन्त्रण तथा व्यवस्थापन अभियान सञ्चालन गर्दै आएको छ ।

उपमहानगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १४:२१
प्रतिक्रिया दिनुहोस्