सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहान ५ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ५१ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये रसुवामा १ सय ६९, नुवाकोटमा १ सय ९६, धादिङमा ६९, चितवनमा ३ सय ६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २२ र नवलपरासी पश्चिममा २ सय २१ वटा रहेका छन्।
शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार ४४ वटा शव व्यवस्थापन गरिएको छ। पहिचानका क्रममा मृतकका १ हजार १ सय ८१ र आफन्तका १ हजार २ सय ३८ गरी कुल २ हजार ४ सय १९ वटा डीएनए नमुना सङ्कलन गरिएको छ।
पहिचान हुन नसकेका १ हजार २ सय ९३ शवको विवरण समेत नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै, बाढीपछि बेपत्ता भएका ३ हजार ९ सय ९२ जनाको खोजी कार्य जारी रहेको छ।
विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार १ सय ९० जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा सम्बन्धित निकायसँग समन्वय गरेर उद्धार र खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।