एसीसी प्रिमियर कप: लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा, साउदी ५ विकेटले पराजित

आइतबार, भदौ २१, २०८३

काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार तेस्रो जित हासिल निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरेको नेपालले आज साउदी अरेबियालाई ५ विकेटले हराएको हो । यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई र दोस्रो खेलमा मलेसियालाई हराएको थियो । 

बेउमास क्रिकेट ओभलमा टस जितेर साउदीले पहिले ब्याटिङ गर्दै ४९ ओभर २ बलमात्र क्रिजमा टिकेर १९० रन बनाउन सक्यो । ओपनर अब्दुल वाहिदलाई आउट गर्न नेपाललाई हम्मे परे पनि अन्य ब्याटरहरू जम्न नसक्दा साउदी सस्तैमा समेटियो । 

वाहिदले ८९ बलमा ७७ रन बनाए । त्यस्तै मुहम्मद अतिफले ६८ बलमा ३० रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछाने र उपकप्तान दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिए । 

त्यस्तै ललितनारायण राजवंशीले दुई तथा शेर मल्ल र गुल्सन झाले समान १ विकेट लिए । 

जवाफमा नेपालले ४१ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । गुल्सन झाले ३५ बलमा अविजित रहँदै ४४ रन जोडे । डा इशान पाण्डेले ४०, देव खनालले ३९ तथा रोहितकुमार पौडेलले अविजित रहँदै २४ रन जोडे । 

नेपाल लगातार तेस्रो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्दैछ । 

समूह ए मा रहेको नेपाल ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाटै हङकङ ४ अंकसहित दोस्रो स्थानमा छ । मलेसिया, बहराइन र साउदीले समान एक खेलमात्र जितेका छन् । 

 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १४:०५
प्रतिक्रिया दिनुहोस्