सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा थेराङ खोलामा आएको बाढीले चार वटा घरसहित एउटा झोलुङ्गे पुल बगाएको छ। आज बिहान आएको बाढीले चुमनुब्री–४ का नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आउनुअघि नै स्थानीयवासीले जोखिमको अनुमान गरी सुरक्षित स्थानमा पुगेकाले ठूलो मानवीय दुर्घटना हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।
बाढीले चुमनुब्री–४ र २ भएर बग्ने थेराङ खोलामाथिको झोलुङ्गे पुलसमेत बगाएको छ। पुलमा क्षति पुगेपछि मनास्लु पदमार्गमा रहेका पर्यटक तथा स्थानीयको आवतजावत प्रभावित हुने देखिएको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले तत्कालका लागि स्थानीयस्तरबाट वैकल्पिक बाटो तथा आवतजावतको व्यवस्था मिलाउने प्रयास भइरहेको बताएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहान क्षेत्रमा केही समय पानी तथा लेदो थुनिएर एक्कासि बगेपछि बाढी आएको प्रारम्भिक जानकारी छ। थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले त्यस आसपासका बस्ती तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।