सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नरैनापुर। बाँकेको नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरले नागरिकका गुनासो, सूचना तथा सुझाव सहज रूपमा प्रहरीसमक्ष पुर्याउन क्यूआर कोडको व्यवस्था गरेको छ।
अब गुनासो, सूचना वा सुझाव दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता नरहने गरी क्यूआर कोडमार्फत जानकारी पठाउन सकिने व्यवस्था गरिएको हो। नागरिकले कार्यालयले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आफूले देखेको कुनै घटना, समस्या वा आवश्यक सूचना प्रहरीलाई दिन सक्नेछन्।
प्रहरीका अनुसार नागरिकले दिएको सामान्य देखिने सूचना पनि अपराध रोकथाम तथा सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण हुन सक्छ। नागरिकका गुनासो तथा सूचनालाई सहज रूपमा प्राप्त गरी आवश्यक कारबाही अघि बढाउन क्यूआर कोडको व्यवस्था गरिएको बताइएको छ।
यस पहलले प्रहरी सेवा थप सहज, पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रहरी र नागरिकबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गरिएको यस्तो व्यवस्था नागरिकका लागि उपयोगी रहेको स्थानीय लगायत युवाहरुको बुझाइ छ।