एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइनमाथि ७ विकेटको जित

सोमबार, भदौ १५, २०८३

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ। सोमबार भएको समूह चरणको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

आज बिहानदेखि सुरु भएको खेलमा बहराइनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि अर्जुन कुमालले संयमित ब्याटिङ गर्दै सर्वाधिक ३६ रन बनाए। उनले ५८ बलमा ५ चौका प्रहार गरे। उनी नटआउट रहे। कप्तान रोहितकुमार पौडेलले १४ बलमा १९ रनको नटआउट इनिङ खेले। उनले एक चौका र एक छक्का प्रहार गरे।

ओपनर आसिफ शेखले २५ बलमा २ चौका र एक छक्कासहित १८ रन बनाएर आउट भए। देव खनाल १९ बलमा १० रन जोड्दै पभेलियन फर्किए भने इशान पाण्डे १ रनमै रनआउट भए।

यसअघि टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु ३६.२ ओभरमा ८७ रनमै समेटिएको थियो।

बहराइनको इनिङ ध्वस्त पार्ने क्रममा नेपाली कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरे। उनले १० ओभरमा मात्र १४ रन खर्चेर ५ विकेट लिए। उनको स्पेलमा ४ ओभर मेडन रहेको थियो।

ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइन ठूलो स्कोर बनाउनबाट रोकिएको हो। बहराइनका लागि फैज अहमदले सर्वाधिक १५ रन बनाए।प्रतियोगितामा नेपालको अब दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग हुनेछ। त्यसपछि भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल भदौ २५ गते तथा तेस्रो स्थानको खेल र फाइनल भदौ २७ गते हुने तालिका छ। २०२७ को एसिया कपमा स्थान बनाउन नेपालका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ। एसिया कपमा छनोट हुन नेपालले प्रतियोगिताको उपाधि जित्नुपर्नेछ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १२:१९
प्रतिक्रिया दिनुहोस्