सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । सीमा क्षेत्रमा हुने चोरी–निकासी तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच बाँकेको हुलासपुरुवा–ककरधरी सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ। गस्तीका क्रममा सीमा क्षेत्र सरसफाइसँगै नेपाल–भारतबीचको आपसी सद्भाव र मित्रता सुदृढ गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेको आयोजनामा आज नेपाल–भारत सीमा ककरधरी क्षेत्रमा ‘ग्रीन बोर्डर इनिसिएटिभ’ अन्तर्गत ‘सिड्स अफ फ्रेन्डसिप’ कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ।
सीमा सुरक्षा, वातावरण संरक्षण, आपसी सहकार्य तथा सीमावर्ती समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। ‘सिड्स’ले सुरक्षा, वातावरण, सहभागिता, कूटनीति र एकतालाई प्रतिनिधित्व गर्ने जनाइएको छ।
कार्यक्रममा नेपाल प्रहरीतर्फ इलाका प्रहरी कार्यालय भगवानपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेश कोइराला ,सशस्त्र प्रहरी बल तथा भारतीय सीमा सुरक्षा बल ६२औँ बटालियन ककरधरीका इन्स्पेक्टर मुकेश दबरालसहित दुवै देशका जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल र भारतबीच आपसी सद्भाव र मित्रताको प्रतीकका रूपमा दुवै देशका स्थानीय प्रजातिका बिरुवा एक–अर्काबीच आदान–प्रदान गरिएको थियो।
यसअघि सोही क्रममा नेपाल प्रहरीतर्फबाट १५ जना र एसएसबी ६२औँ बटालियन ककरधरीको संयुक्त टोलीले नेपालतर्फ बाँकेको नरैनापुर गाउँपालिका–५ हुलासपुरुवा तथा भारततर्फ ककरधरी क्षेत्रमा संयुक्त गस्ती गरेको थियो।
संयुक्त गस्तीका क्रममा सीमा क्षेत्रमा हुने चोरी–निकासी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि निगरानी गरिएको थियो। साथै, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागितामा सीमा क्षेत्र सरसफाइ कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
सीमा सुरक्षा मात्र नभई वातावरण संरक्षण, जनस्तरको सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई समेत समान प्राथमिकता दिने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ। आज रोपिएका बिरुवाले आगामी पुस्ताका लागि हरियालीसँगै नेपाल–भारतबीचको मित्रता, सहकार्य र साझा जिम्मेवारीको जीवित प्रतीकका रूपमा विकास गर्ने विश्वास लिइएको छ।