प्रहरी कारबाहीमा लागूऔषधसहित २९ जना पक्राउ

आइतबार, साउन ३१, २०८३

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल, डाईजेपाम, फेनारगन, बुप्रेनोर्फिनलगायतका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

ललितपुरको ललितपुर महानगरपालिका–२७ सुनाकोटीबाट खैरो हेरोइन २५० मिलिग्राम, गाँजा २४० ग्राम, नाइट्राजेपाम ३८२ ट्याब्लेट र डाइक्लोमाइन २० ट्याब्लेटसहित सुर्खेत घर भएका ३२ वर्षीय दिपेश मगर भन्ने दिपेश मास्के पक्राउ परेका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली पुलबाट करिब १४ किलो गाँजासहित काठमाडौं पेप्सीकोला बस्ने काभ्रेको रोशी गाउँपालिका–७ का १९ वर्षीय राम लामा समेत दुई जना पक्राउ परेका छन्। उनीहरू मोटरसाइकलमा बनेपाबाट च्याम्हासिंहतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरबाट ७५ वर्षीय राम प्यारे राय ७३९ ग्राम गाँजासहित पक्राउ परेका छन्। त्यस्तै, लालबन्दी नगरपालिका–१ बाट करिब २२ किलो ८२० ग्राम गाँजासहित हरिवन नगरपालिका–१ का ३० वर्षीय सुशिल साह समेत तीन जना पक्राउ परेका छन्।

झापाको बिर्तामोडबाट ४ ग्राम ८९० मिलिग्राम खैरो हेरोइनसहित इलाम घर भएका २४ वर्षीय दावा गुरुङ तथा दमकबाट ४७० मिलिग्राम खैरो हेरोइनसहित २० वर्षीय पंकज कार्की समेत दुई जना पक्राउ परेका छन्।
बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर चोकबाट ४६४ मिलिग्राम खैरो हेरोइनसहित मधुवन नगरपालिका–१ का १९ वर्षीय समिर बुढामगर समेत दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट ३९० मिलिग्राम खैरो हेरोइनसहित गोदावरी नगरपालिका–८ का २९ वर्षीय प्रेमबहादुर बम पक्राउ परेका छन्।

मोरङको कानेपोखरी गाउँपालिका–२ बाट ११ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित ३५ वर्षीय रेवत कार्की समेत दुई जना पक्राउ परेका छन्।
चितवनको भरतपुर महानगरपालिका–१२ मुनाल चोकबाट करिब दुई किलो गाँजा, ट्रामाडोल ९८ ट्याब्लेट र फेनारगन ११० एम्पुलसहित ३० वर्षीय अर्जुन देउला समेत तीन जना पक्राउ परेका छन्।

पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट ४६० मिलिग्राम खैरो हेरोइनसहित २० वर्षीय सुमित पटेल समेत पाँच जना पक्राउ परेका छन्। उनीहरू भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार थिए। त्यस्तै, वीरगन्ज महानगरपालिका–१५ बाट करिब ५० ग्राम ७०० मिलिग्राम खैरो हेरोइनसहित पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्साद देवन र बिन्दबासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख पक्राउ परेका छन्।

धनकुटाको पाख्रीबास नगरपालिका–४ बाट ट्रामाडोल १३० ट्याब्लेट र स्पास्पेन १३० ट्याब्लेटसहित २५ वर्षीय निरज भट्टराई समेत दुई जना पक्राउ परेका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुडाबाट डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिन ४र४ एम्पुलसहित स्याङ्जा घर भएका २९ वर्षीय सुमन बस्याल पक्राउ परेका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट ७९० मिलिग्राम खैरो हेरोइनसहित सिन्धुली दुधौली नगरपालिका–११ का २९ वर्षीय ओमराज कटुवाल पक्राउ परेका छन्। उनी जनकपुरबाट काठमाडौं जाँदै गरेको गाडीमा सवार थिए। प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १७:४१
प्रतिक्रिया दिनुहोस्