Tihar Banner
Tihar Banner

थाइल्यान्डबाट नेपाल हुँदै भारत लैजान खोजिएको १८ किलो गाँजा नियन्त्रणमा, दुई भारतीय पक्राउ

बुधबार, साउन २७, २०८३

काठमाडौं । थाइल्यान्डबाट काठमाडौं हुँदै भारततर्फ लैजान लागिएको १८ किलोग्राम गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट विमानस्थलमा परिचालित प्रहरी टोलीले बैंककबाट क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएका यात्रुमाथि निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको पञ्जाबका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। प्रहरीका अनुसार उनीहरूले लगेजभित्र लुकाएर ल्याएको गाँजा विमानस्थलको भन्सार क्षेत्रमा छाडेर त्यहाँबाट बाहिरिन खोजेका थिए। सोही क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा थाइल्यान्डबाट गाँजा ल्याउने गिरोहले विमानस्थलमा पक्राउ पर्ने जोखिम कम गर्न भन्सार क्षेत्रमा लगेज छाडेर जाने र केही दिनपछि नेपाली एजेन्टमार्फत ती सामान दाबी गरी भारत लैजाने योजना बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाबाट दुई थान पासपोर्ट, दुई थान मोबाइल फोन तथा चार थान झोलासमेत बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

घटनामा अन्य व्यक्ति तथा समूहको संलग्नता रहे–नरहेको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्