७ हजार रुपैयाँमा ग्यास बिक्री गरेको आरोपमा एक जना पक्राउ

शनिबार, साउन २३, २०८३

काठमाडौं  । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकमा डेरा गरी बस्ने ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।

प्रहरीका अनुसार उनले उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको एक सिलिण्डर ७ हजार रुपैयाँका दरले बिक्री गर्दै आएको भन्ने सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा अनुगमनका क्रममा उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट एलपी ग्यासका ३ थान सिलिण्डरसमेत नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका त्वयनामाथि कालोबजारीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  २०:०७
प्रतिक्रिया दिनुहोस्