प्रहरीका पाँच एआईजीको सरुवा, दीपक थापा उपत्यका प्रहरी कार्यालयमा

शनिबार, भदौ २, २०८०
honor mob  winter sales

काठमाडौं । उपत्यका प्रहरी प्रमुखसहित पाँच जना एआईजीहरुको सरुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखसहित विभिन्न कार्यालयका प्रमुखलाई सरुवा गरेको छ।

Honor x7 pad

नक्कली भुटानी शरणार्थीको प्रकरणमा मातहतमा प्रहरी अधिकारीहरुसँग समन्वय गर्ने एआईजी श्याम ज्ञवालीसहित सरुवा भएको हो ।काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी  ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ । 

थापाको स्थानमा कार्यविभाग प्रमुख मीरा चौधरीलाई पठाइएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ । राईले सरुवा प्रकृयामा असन्तुष्टि जनाएका थिए । तर उनको असन्तुष्टिको सुनुवाइ भएन । 

मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ । सरुवा मापदण्ड बनाउने भण्डारीको पनि पाँच महिनामा सरुवा भएको हो। 

तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत् राखिएको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मातहत प्रहरीसँग समन्वय गरिरहेका ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएका थिए । 

कांग्रेसलाई मात्र छानेर प्रहरीले पक्राउ गरेको र बद्नाम गरेको भन्दै यसअघि नै देउवाले असन्तुष्टि जनाएका थिए । देउवासमेत ज्ञवालीको सरुवा गर्न चाहेका थिए । 

उनलाई प्रहरी महारिीक्षक हटाउन लागिपरेको आरोपसमेत लाग्ने गरेको छ । उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन् । 

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी केसीलाई पनि सरुवाको तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनको पनि केही दिनमा सरुवा हुँदैछ । 

प्रहरी महानिरीक्षकबाटै सरुवा गर्ने भएकाले उनको पनि केही दिनमा सरुवा हुने बताइएको छ।

 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्