वन्यजन्तु मुद्दामा जेलबाट भागेका कैदी बन्दुकसहित पक्राउ

आइतबार, साउन १७, २०८३

काठमाडौं ।  प्रहरीले वन्यजन्तु सम्बन्धी मुद्दामा सजाय भोग्दै गर्दा कारागारबाट फरार भएका एक व्यक्तिलाई भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राप्ती नगरपालिका–११, थाकलटारका ४५ वर्षीय आईतसिंह लामालाई इलाका प्रहरी भण्डाराबाट खटिएको प्रहरी टोलीले उनकै घर नजिकबाट झण्डै १ वर्षपछि नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार लामा गत वर्ष भरतपुर कारागारबाट फरार भएका थिए। उनी एकसिंगे गैँडा मारिएको घटनासँग सम्बन्धित वन्यजन्तु कसुरमा अदालतबाट दोषी ठहर भई १५ वर्ष कैद सजाय तथा १० लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन्। उक्त सजाय कार्यान्वयनका क्रममा उनी भरतपुर कारागारमा रहेका बेला फरार भएका थिए।

पक्राउका क्रममा लामाको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १३:४६
प्रतिक्रिया दिनुहोस्