राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुने

सोमबार, साउन ११, २०८३

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकावासीका लागि गुणस्तरीय स्वास्थ्य सेवामा नयाँ आयाम थपिने भएको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र निक साइमन्स इन्स्टिच्युट (NSI) बीच ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (Rural Health System Strengthening Project–RHSSP) कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै राप्तीसोनारी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारको मार्ग खुलेको हो।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, अस्पताल विकास समितिका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मिनराज खड्का र निक साइमन्स इन्स्टिच्युट (NSI) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त समझदारीसँगै परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

परियोजना अन्तर्गत राप्तीसोनारी अस्पतालमा विशेषज्ञ चिकित्सकीय सेवा विस्तार गरिनुका साथै आमा सुरक्षा कार्यक्रम अन्तर्गत शल्यक्रियामार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन गरिने भएको छ। यस सेवाको सञ्चालनपछि जटिल प्रसूति भएका गर्भवती महिलाले सामान्य शल्यक्रियाका लागि नेपालगञ्ज वा अन्य अस्पताल धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।

अस्पताल प्रशासनका अनुसार विशेषज्ञ जनशक्ति व्यवस्थापन, आवश्यक उपकरण जडान, पूर्वाधार सुदृढीकरण तथा सेवा सञ्चालनका सम्पूर्ण प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ। आगामी भदौ १ गतेदेखि सेवा सञ्चालन गर्ने लक्ष्यका साथ अन्तिम तयारी तीव्र रूपमा भइरहेको जनाएको छ।

यस परियोजनाले राप्तीसोनारी गाउँपालिकासहित आसपासका क्षेत्रका नागरिकलाई आफ्नै नजिकबाट विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। विशेषगरी मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सुधार ल्याउने, समयमै उपचार पहुँच सुनिश्चित गर्ने तथा सुरक्षित मातृत्वलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

स्थानीय तह, प्रदेश सरकार र विकास साझेदारबीचको सहकार्यबाट सञ्चालनमा आउन लागेको यो सेवा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले स्थानीय नागरिकलाई सहज, सुलभ, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य क्षेत्रमा नयाँ विश्वास स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्