सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । आफूलाई जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरी भएको परिचय दिँदै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा तथा हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भैरहवा बजार क्षेत्रमा राणाले आफू घुमुवा प्रहरी भएको दाबी गर्दै नक्कली रिभल्भर देखाएर एक सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले राणाको शरीर र डेरा कोठामा खानतलासी गर्दा एउटा नक्कली रिभल्भर, सवारी चालक अनुमतिपत्र, करिब ५०० ग्राम गाँजा, भिभो कम्पनीको एक थान एन्ड्रोइड मोबाइल तथा रु। २ हजार ६ सय नगद बरामद गरेको जनाएको छ।
बरामद सामग्रीसहित राणालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।