बाँके प्रहरीको असारको कारबाही: २१६ मुद्दा दर्ता हुँदा ११ जघन्य अपराधका, ९२ फरार प्रतिवादी पक्राउ

मंगलबार, साउन ५, २०८३

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा भन्सार छली नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।

बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार असारभर २१६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ११ वटा जघन्य अपराध, ५८ वटा गम्भीर अपराध, १४७ वटा सामान्य अपराध, १६ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित तथा ५४ वटा आर्थिक अपराधका मुद्दा रहेका छन्।

यस अवधिमा विभिन्न मुद्दाका १५७ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका ५४ वटा पेन्डिङ मुद्दाको अनुसन्धान सम्पन्न गरिएको छ। साथै सम्पत्ति शुद्धीकरण सम्बन्धी एक मुद्दा समेत दर्ता भएको बाँके  प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयन अभियानअन्तर्गत ९२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ४५ वर्ष ३ महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको छ। साथै ४ करोड ७१ लाख ३ हजार ५११ रुपैयाँ बिगो तथा क्षतिपूर्ति असुल गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

लागूऔषध नियन्त्रण अभियानमा २४ वटा मुद्दा दर्ता गर्दै ३९ जनालाई पक्राउ गरिएको छ। प्रहरीले ३४३ ग्राम ९३० मिलिग्राम ब्राउनसुगर, १४८ ग्राम चरेस, १६८ ट्याब्लेट नाइट्राजेपाम तथा २५० क्याप्सुल ट्रामाडोल बरामद गरेको प्रहरीले  जनाएको छ।

सीमा क्षेत्रमा भन्सार छली तथा चोरीपैठारी नियन्त्रणका क्रममा ३५ लाख ५९ हजार ६६२ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। यस क्रममा १२ जना व्यक्ति र ४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस्तै, प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा १५ वटा सवारीसाधन नियन्त्रणमा लिई १ लाख ४३ हजार ९७० रुपैयाँ जरिवाना गरिएको छ। अवैध वन पैदावार ओसारपसारमा ७०.१३६ क्युफिट काठ बरामद गरी २ जनालाई पक्राउ गरिएको छ। त्यसैगरी १८० केजी मासु र ३ हजार वटा कुखुरा नियन्त्रणमा लिई १ लाख १८ हजार २०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

असार महिनामा १९ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको र २७ जना घाइते भएका छन्। दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको प्रहरीको विश्लेषण छ।

अपराध न्यूनीकरणका लागि प्रहरीले असारभर ११५ वटा विद्यालय तथा समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रममा ३ हजार ५२७ जना ९पुरुष २,१७४ र महिला १,३५३० सहभागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरी उपरीक्षक अंगुर जिसीको कमाण्ड रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा अवैध कारोबारविरुद्धको अभियानलाई आगामी दिनमा पनि प्रभावकारी रूपमा निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १२:५१
प्रतिक्रिया दिनुहोस्