मिटरब्याज र करोडौं ठगी मुद्दामा श्रीमान्–श्रीमती पक्राउ, छोरा पनि समातिए

शनिबार, साउन २, २०८३

काठमाडौं ।   दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर ४  करोड रुपैयाँ  ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मिटरब्याज तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको हो।

गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्द कुमार साहले व्यापार व्यवसाय गर्नका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर  ९९ लाख रुपैयाँ ऋण लिएका थिए । गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिइ गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी ४ करोड  रुपैयाँ ऋण लिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरु बरामद गरेको जानकारी दिएको छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्