सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ।
घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा रहेका तीन जनामध्ये दुई महिला र एक पुरुष नगर प्रहरी रहेका छन्। उनीहरूलाई कालीमाटी प्रहरी वृत्तमा राखी घटनाका विभिन्न पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपालीले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रारम्भिक जानकारीअनुसार घटनाभन्दा केहीअघि उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएको थियो। त्यसपछि सुरक्षाकर्मीसँग विवाद भएको र सोही क्रममा उनले आत्मदाहको प्रयास गरेको उनका आफन्तले बताएका छन्। यद्यपि घटनाको वास्तविक कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।