भेरी अस्पतालमा मेसुले गर्दैछन् छड्के अनुगमन, भन्छन्– ड्युटी छाड्नेलाई कारबाही हुन्छ

बिहीबार, असार २५, २०८३

नेपालगञ्ज। भेरी अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन अनुगमनलाई कडा बनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. नवीन दर्नालसहितको टोलीले बिहीबार ओपीडी (बहिरंग सेवा) को आकस्मिक छ्ड्के अनुगमन गर्दै सेवा प्रवाहको अवस्थाबारे निरीक्षण गरेको हो।

अनुगमनका क्रममा ड्युटी समयमा कार्यस्थलमा अनुपस्थित भेटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कानुन र नियमावलीअनुसार कारबाही गरिने स्पष्ट निर्देशन दिइएको अस्पतालले जनाएको छ। सेवा प्रवाहमा कुनै ढिलासुस्ती वा लापरबाही सह्य नहुने भन्दै अस्पताल प्रशासनले समयपालना र जिम्मेवारीलाई कडाइका साथ लागू गर्ने जनाएको छ।

बिरामीको चापलाई ध्यानमा राख्दै ओपीडी टिकट (पर्चा) काट्ने समय बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ। त्यस्तै, अपराह्न ४ बजेसम्म टिकट लिएका सबै बिरामीले उपचार पाउने सुनिश्चित गर्न चिकित्सकहरू साँझ ५ बजेसम्म ओपीडीमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

अस्पतालले सेवाग्राहीलाई तोकिएको समयभित्र टिकट काटेर सेवा लिन आग्रह गरेको छ।

मेसु डा. दर्नालले गुणस्तरीय, छिटो र जिम्मेवार स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यअनुसार सेवा व्यवस्थापनमा सुधार र नियमित अनुगमनलाई निरन्तरता दिइने बताए।

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्