'हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हौं' भनेका डीएसपी जिल्ला तानिए

बिहीबार, असार २५, २०८३

कैलाली । कैलालीस्थित इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ। उनीसँग सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिसहित विभिन्न विषयमा सोधपुछ गरिने भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका  अनुसार डीएसपी चौधरीलाई सुरुमा अर्को आन्तरिक विषयका लागि बोलाइएको भए पनि उनले हालै दिएको ‘बालेनको पुलिस होइन, हामी नेपाल पुलिस हौं’ भन्ने अभिव्यक्तिबारे पनि स्पष्टीकरण लिइनेछ।

घोडाघोडी नगरपालिका–५ को दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्तिको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए। सो क्रममा उनले ‘बालेनको पुलिस होइन, हामी नेपाल पुलिस हौं’ भन्दै आफूहरू अन्यायमा परेकालाई न्याय दिलाउने र कानुनअनुसार आवश्यक परे जोसुकैमाथि पनि कारबाही गर्न सक्ने आशय व्यक्त गरेका थिए। उनले आफूहरू निर्वाचित नभई छनोट प्रक्रियाबाट सेवामा आएको पनि बताएका थिए।

उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएपछि प्रहरी संगठनले त्यसबारे पनि उनीसँग सोधपुछ गर्ने जनाएको छ। कैलाली प्रहरीलेले अन्य सोधपुछका विषय भने संगठनभित्रकै भएकाले सार्वजनिक गर्न नमिल्ने बताएको छ। डीएसपी चौधरीले दिएको अभिव्यक्ति अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १०:३९
प्रतिक्रिया दिनुहोस्