सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सरकारले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ युवा डा. कीर्तिपाल सुवेदीलाई कोशी प्रदेश सरकारको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्दै डा सुवेदीलाई कोशी प्रदेशको स्वास्थ्य सचिवमा खटाएको हो।
डा. सुवेदी यसअघि नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रमुख कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत रहँदा ११औँ तहमा बढुवा भएका थिए। त्यसपछि उनको सरुवा गजेन्द्र नारायण अस्पतालमा गरिएको थियो। लामो समयदेखि प्रसूति तथा स्त्रीरोग सेवासँगै अस्पताल व्यवस्थापन र स्वास्थ्य प्रशासनमा सक्रिय रहेका डा. सुवेदीले अब कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको नेतृत्व गर्नेछन्। उनको नेतृत्वमा प्रदेशको मातृ तथा शिशु स्वास्थ्य सेवा थप सुदृढ हुने, अस्पताल सेवाको गुणस्तर सुधार हुने, स्वास्थ्य जनशक्तिको व्यवस्थापन प्रभावकारी बन्ने तथा नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
सरकारको यो निर्णयसँगै कोशी प्रदेशको स्वास्थ्य प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउन डा. सुवेदीको अनुभव महत्वपूर्ण हुने विश्वास गरिएको छ।