भेरी अस्पतालमा अब लापरवाही सह्य छैन, गुनासो सुन्न छुट्टै समिति गठन

शुक्रबार, असार १९, २०८३

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको कर्मचारी आचारसंहिता–२०८३ कडाइका साथ कार्यान्वयनमा ल्याएको छ।

सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यले अस्पतालले गुनासो व्यवस्थापनका लागि छुट्टै समिति समेत गठन गरेको छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालका अनुसार मन्त्रालयले जारी गरेको आचारसंहिताको पूर्ण पालना गराउन अस्पताल प्रशासन प्रतिबद्ध रहेको छ। सेवाग्राहीबाट आउने गुनासा तत्काल सम्बोधन गर्न डा. विवेककुमार महतोको संयोजकत्वमा गुनासो सुन्ने समिति गठन गरिएको उनले जानकारी दिए।

उनका अनुसार अस्पतालका कुनै पनि कर्मचारीले आचारसंहिता उल्लङ्घन गरेको, सेवाप्रवाहमा लापरवाही गरेको वा सेवाग्राहीसँग असम्मानजनक व्यवहार गरेको महसुस भएमा सम्बन्धित व्यक्तिले सिधै गुनासो दर्ता गर्न सक्नेछन्। प्राप्त गुनासोको निष्पक्ष, गोपनीय र कानुनबमोजिम सुनुवाइ गरी आवश्यक कारबाही तथा समाधान गरिने अस्पतालले जनाएको छ।

गुनासो दर्ताका लागि ९८५८०१२०१२ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। डा. दर्नालले सबै कर्मचारीलाई आचारसंहिता अनिवार्य रूपमा पालना गर्न निर्देशन दिइएको बताउँदै उल्लङ्घन भएमा गुनासो गर्न सेवाग्राहीलाई आग्रह गरेका छन् ।

मन्त्रालयले जारी गरेको ११ बुँदे आचारसंहितामा बिरामी तथा सेवाग्राहीप्रति सम्मानजनक र सहानुभूतिपूर्ण व्यवहार, भेदभावरहित सेवा, आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता, बिरामीको गोपनीयता कायम गर्ने, इमानदार र गुणस्तरीय सेवा दिने, अनावश्यक दुःख नदिने, घुस वा कमिसन नलिने, अस्पतालको सम्पत्ति र सरसफाइको संरक्षण गर्ने, सहकर्मी तथा सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्ने, विपद् तथा महामारीमा जिम्मेवारीपूर्वक सेवा दिने र संस्थाको प्रतिष्ठामा आँच नपुग्ने गरी आचरण गर्नुपर्ने व्यवस्था समेटिएको छ।

अस्पताल प्रशासनले आचारसंहिताको प्रभावकारी कार्यान्वयनले सेवाको गुणस्तर सुधार हुनुका साथै अस्पतालप्रति नागरिकको विश्वास अझ मजबुत हुने अपेक्षा गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  ०८:३९
प्रतिक्रिया दिनुहोस्