सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज। बाँकेका पत्रकारहरूको नाक, कान तथा घाँटी (ईएनटी) सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा नेपालगञ्ज-१० सुर्खेत रोडस्थित ओलस्का रामारोशन क्लिनिकको सहकार्यमा महासंघको कार्यालयमा आयोजित शिविरमा पत्रकारहरूको नाक, कान तथा घाँटी परीक्षण गरिएको हो ।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झाले सहभागी पत्रकारहरूको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणका क्रममा कानको श्रवण क्षमता (प्योर टोन अडियोमेट्री–पीटीए) परीक्षण समेत गरिएको ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढाले जानकारी दिए। डा.झाका अनुसार परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
डा. झाले अधिकांश पत्रकाहरुमा कान सफा गर्ने नाममा बारम्बार इयर बड (कटन बड) प्रयोग गर्ने बानीका कारण कानको भित्री छाला सुख्खा हुने समस्या देखिएको बताए। उनले कानको स्वास्थ्य जोगाउन अनावश्यक रूपमा इयर बडको प्रयोग नगर्न समेत सुझाव दिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूलाई व्यवसायिक जिम्मेवारीसँगै आफ्नै स्वास्थ्यप्रति पनि सचेत र जिम्मेवार बनाउन महासंघले समय–समयमा विभिन्न स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आएको बताए । यसै अभियान अन्तर्गत यस पटक नाक, कान तथा घाँटी रोग सम्बन्धी विशेष स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको उहाँले जानकारी दिए ।
महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार शिविरमा ४० जना पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झा, ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढा तथा कमल बुढासहितको स्वास्थ्यकर्मी टोलीको सहभागिता रहेको शिविरका लागि आवश्यक औषधि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नेपालगञ्ज इकाई (एनएमएसआरए) ले उपलब्ध गराएको थियो ।