सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । पश्चिम नेपालका मृगौलाका बिरामहरूका लागि खुसीको खबर आएको छ। भेरी अस्पतालमा पहिलो पटक नेपाल सरकारअन्तर्गत स्थायी रूपमा नेफ्रोलोजिस्ट (मृगौला रोग विशेषज्ञ) चिकित्सकको व्यवस्था भएको छ।
लोक सेवा आयोगले हालै सार्वजनिक गरेको नतिजाअनुसार नेफ्रोलोजी विषयका कन्सल्टेन्ट नेफ्रोलोजिस्ट पदमा डा। सौरभ सिंह हमाल छनोट भई भेरी अस्पतालमा पदस्थापन हुने भएका छन्। यससँगै भेरी अस्पतालमा मृगौला रोगसम्बन्धी विशेषज्ञ सेवा थप प्रभावकारी र दिगो बन्ने अपेक्षा गरिएको छ।
पश्चिम नेपालमा पछिल्ला वर्षहरूमा मृगौला रोगका बिरामीको संख्या बढ्दो क्रममा रहे पनि विशेषज्ञ चिकित्सकको अभावका कारण उपचारका लागि बिरामीहरू काठमाडौं वा भारतका विभिन्न अस्पताल धाउन बाध्य थिए। अब भने भेरी अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध हुने भएपछि बिरामी र उनका परिवारलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।
भेरी अस्पतालमा हाल सञ्चालनमा रहेको डायलाइसिस सेवाको गुणस्तर अभिवृद्धिसँगै मृगौला रोगको परीक्षण, उपचार तथा परामर्श सेवा समेत थप सुदृढ हुने अपेक्षा गरिएको छ। यसले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्नुका साथै आर्थिक भारसमेत घटाउने विश्वास गरिएको छ।
स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले यसलाई पश्चिम नेपालका नागरिकका लागि महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन्। भेरी अस्पतालमा पहिलो पटक स्थायी नेफ्रोलोजिस्टको व्यवस्था हुनुलाई मृगौला स्वास्थ्य सेवाको विकासमा ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
डा. सौरभ सिंह हमाललाई भेरी अस्पतालमा स्वागत गर्दै उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। उहाँको आगमनसँगै पश्चिम नेपालमा मृगौला रोगसम्बन्धी विशेषज्ञ सेवामा नयाँ आशा थपिएको छ।