सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। बाँकेको कोहलपुरमा सञ्चालनमा रहेका अधिकांश डेन्टल क्लिनिकले कानुनी मापदण्ड विपरीत सेवा प्रवाह गरिरहेको पाइएको छ। नेपाल मेडिकल काउन्सिलको अनुगमन टोलीले गरेको स्थलगत निरीक्षणमा धेरै क्लिनिकमा दन्त चिकित्सक नै नराखी बिरामीको उपचार गरिरहेको तथ्य फेला परेको हो।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अजयकुमार शाहको नेतृत्वमा आएको टोलीले कोहलपुरका सात वटा डेन्टल क्लिनिकको अनुगमन गरेको थियो। अनुगमनका क्रममा कोहलपुर डेन्टल हस्पिटल, न्यू बाँके डेन्टल क्लिनिक, रामदेव डेन्टल क्लिनिक, स्माइल डेन्टल क्लिनिक र शुभकामना डेन्टल क्लिनिकमा चिकित्सक नभेटिएको टोलीले जनाएको छ। फ्रेस डेन्टल क्लिनिक र पूजा डेन्टल क्लिनिकमा मात्रै चिकित्सक उपस्थित रहेको पाइएको छ।
डा. शाहका अनुसार अधिकांश क्लिनिकले सम्बन्धित स्वास्थ्य निकायबाट आवश्यक सञ्चालन अनुमति नलिई सेवा प्रवाह गरिरहेका छन्।
डेन्टल अस्पताल तथा क्लिनिक सञ्चालनका लागि कानुनअनुसार अनुमति लिनुपर्ने व्यवस्था भए पनि धेरै संस्थाले आवश्यक प्रक्रिया पूरा नगरेको पाइएको उनले बताए। “दन्त उपचार सेवा सञ्चालन गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक अनिवार्य हुनुपर्छ। तर अनुगमनका क्रममा धेरै क्लिनिकमा चिकित्सक नभेटिनु गम्भीर विषय हो। यसले बिरामीको सुरक्षामाथि प्रत्यक्ष प्रश्न उठाएको छ,” उनले बताए।
अनुगमन टोलीका अनुसार केही क्लिनिकमा डेन्टल हाइजिनिस्ट तथा अन्य स्वास्थ्यकर्मीले चिकित्सकको भूमिकामा बिरामी जाँच्ने, उपचार गर्ने, रुट क्यानल ट्रीटमेन्ट (आरसीटी) तथा शल्यक्रियासम्म गर्ने गरेको भेटिएको छ। कानुनअनुसार डेन्टल हाइजिनिस्टले सामान्य दन्त सरसफाइ, दन्त स्वास्थ्य प्रवर्द्धन तथा चिकित्सकलाई सहयोग गर्ने कार्य मात्रै गर्न पाउने व्यवस्था छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार दाँत तथा मुखसम्बन्धी उपचारमा हुने सानो त्रुटिले पनि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ। विशेषगरी आरसीटी, दाँत निकाल्ने शल्यक्रिया तथा अन्य जटिल उपचार चिकित्सकको प्रत्यक्ष निगरानीबिना गर्नु जोखिमपूर्ण मानिन्छ।
अनुगमनका क्रममा कतिपय क्लिनिकले विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराइने भन्दै प्रचारप्रसार गरे पनि व्यवहारमा स्वास्थ्यकर्मी वा सञ्चालक स्वयंले उपचार गरिरहेको भेटिएको स्रोतले जनाएको छ।
अनुगमन टोलीले सम्बन्धित क्लिनिकलाई एक साताभित्र योग्य चिकित्सकको व्यवस्था गर्न निर्देशन दिएको छ। साथै अनुगमन प्रतिवेदन नेपाल मेडिकल काउन्सिलमा पेश गरी थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ। टोलीमा काउन्सिल सदस्य डा. सम्राट पराजुली, डा. प्रतिक श्रेष्ठ तथा डा. विवेककुमार महत्तो सहभागी थिए।