बाँके र दाङबाट ब्राउन सुगरसहित ९ जना पक्राउ

शुक्रबार, जेठ २२, २०८३
Honor 600 pro

काठमाडौं । बाँके र दाङका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३, परसपुरबाट २३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१२ चप्परचौडीका ३० वर्षीय सुशान्त विश्वकर्मा र नेपालगञ्ज उपमहानगरपालिका–६ फुलटेग्राका ३१ वर्षीय सोनु हल्वाई रहेका छन्। प्रहरी चौकी तेलियनपुरबाट खटिएको टोलीले बिहीबार साँझ उधौंपूर्वबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १० प ६३४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, बैजनाथ गाउँपालिका–३ नौवस्ताबाट १ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित स्थानीय २० वर्षीय प्रकाश थारू पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको टोलीले बिहीबार साँझ उनलाई पक्राउ गरेको हो।

यता दाङको घोराही उपमहानगरपालिका–१४ नयाँबजारबाट ८० मिलिग्राम ब्राउन सुगरसहित घोराही–१८ अम्बापुरका २८ वर्षीय विजय पोख्रेलसहित दुई जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी घोराही उपमहानगरपालिका–१५ जानकीटोलबाट ३४० मिलिग्राम ब्राउन सुगर र नगद ११ हजार ३१० रुपैयाँसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही–५ धर्नाका २५ वर्षीय विपिन केसी, घोराही–५ रतनपुरका २५ वर्षीय पुष्कर भण्डारी, रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ काभ्राका २९ वर्षीय किरण थापा तथा प्युठानको स्वर्गद्वारी नगरपालिका–३ भिंग्रीका २८ वर्षीय उत्तम सुनार रहेका छन्।

पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १७:३८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह