लुकाइएका ८ थान बन्दुक बरामद, चोरी शिकारीका राखिएको आशंका

सोमबार, जेठ १८, २०८३
Honor 600 pro

सल्यान । सल्यान प्रहरीले एक साताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जेठ १८ गते त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले क्षेत्रबाट २ थान बन्दुक बरामद गरिएको हो। उक्त बन्दुक इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो।

त्यसैगरी, जेठ १७ गते बनगाड कुपिण्डे नगरपालिका–१२ स्थित निगालचुलाको बस्नेयुरा सामुदायिक वन क्षेत्रबाट ३ थान बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त बन्दुक जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले बरामद गरेको हो।

यसअघि जेठ १३ गते बनगाड कुपिण्डे नगरपालिका–१२ कै सिद्धगुफा सामुदायिक वनबाट ३ थान बन्दुक बरामद गरिएको थियो। ती बन्दुक प्रहरी चौकी बनगारको टोलीले फेला पारेको प्रहरीले जनाएको छ।

सल्यान प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक चोरी सिकारी कार्यमा संलग्न व्यक्तिहरूले लुकाएर राखेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको तथा बन्दुक लुकाएर राख्ने व्यक्तिहरूको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्