टिकटर तुलसा अधिकारीलाई पक्राउ गरेर इन्टरपोलले ल्यायो नेपाल

आइतबार, जेठ १७, २०८३
Honor 600 pro

काठमाडौँ । टिकटकमा ‘तुलसा अधिकारी’ नामले परिचित तुलसी अधिकारीलाई नेपाल प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ परेकी टिकटकर अधिकारीलाई गए राति काठमाडौँ ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

अधिकारी विरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दर्ता भइसकेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइनेछ।

सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीसहित १० जनाविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो। उक्त मुद्दा ललितपुरका एक व्यवसायीको जाहेरीका आधारमा अघि बढाइएको बताइएको छ।

जाहेरीकर्ताले अधिकारीले आफूलाई ब्ल्याकमेल गर्दै सोही क्रममा नगद तथा जिन्सी गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको रकम र सम्पत्ति लिएको दाबी पनि जाहेरीमा उल्लेख छ।

ललितपुर प्रहरीको हिरासतमा रहेकी अधिकारीविरुद्ध  घटनासम्बन्धी  थप अनुसन्धान जारी रहेको जनाउदै अधिकारीलाई भोलि अदालत पेश गरिने भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १०:०२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह