सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँके प्रहरीले विभिन्न मुद्दामा करोडौं रुपैयाँ सजाय र जेल सजाय पाएका फरार प्रतिवादी कुलीन रानालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–१० बस्ने ३४ वर्षीय कुलिन भन्ने अबिनाश रानालाई बाँके जिल्ला अदालतबाट कैद तथा बिगो जरिवाना फैसला भएपछि फरार रहेका अवस्थामा पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई जेठ ११ गते पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका कुलिनलाई आवश्यक कारवाहीका लागि सम्मानित बाँके जिल्ला अदालत नेपालगञ्जमा बुझाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।प्रहरीका अनुसार रानाविरुद्ध बैंकिङ कसूर मुद्दामा २ महिना कैद र १ करोड ३० लाख रुपैयाँ जरिवाना, अर्को बैंकिङ कसूर मुद्दामा ९ दिन कैद र १६ लाख १५ हजार रुपैयाँ जरिवाना तथा चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय फैसला भएको थियो।
यसैगरी बाँके प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
बाँके प्रहरीका अनुसार जेठ १० गते कोहलपुर नगरपालिका–९ झण्डहवा क्षेत्रबाट ४२ वर्षीय मोहम्मद असिनलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर र नगद ४१ हजार १५० रुपैयाँ बरामद गरिएको छ। उनलाई बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
त्यसैगरी सोही दिन कोहलपुर नगरपालिका–९ पिपिरी क्षेत्रबाट समिर थारु र बिशाल सुनारलाई पनि लागूऔषधसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ९२० मिलिग्राम ब्राउन सुगर र नगद ६ हजार ९३५ रुपैयाँ बरामद गरिएको छ। उनीहरुलाई अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।बाँके प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको र यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने जनाएको छ।