कुन-कुन मुद्दाका कति जनालाई पक्राउ गर्‍यो प्रहरीले? (यस्तो छ विवरण)

शुक्रबार, जेठ ८, २०८३

काठमाडौं । नेपाल प्रहरीले  लागुऔषध , फरार प्रतिवादी र हातहतियार सम्बन्धी मुद्दामा संलग्न रहेका ३ हजार बढीलाई पक्राउ गरेको छ।  नेपाल प्रहरीले बैशाख महिनामा देशभर गरेको कारबाहीमा लागुऔषधतर्फ १ हजार ५६, फरार प्रतिवादीतर्फ २ हजार ३१९ र हातहतियार मुद्दातर्फ ४० जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार लागुऔषधतर्फ पक्राउ पर्नेहरू मध्ये उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना तथा लागूऔषध नियन्त्रण ब्यूरो बाट ४२ जना पक्राउ परेका हुन्। उक्त अवधिमा प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका लागुऔषध समेत बरामद गरेको छ। बरामद गरिएका लागुऔषधमा १ हजार ८ सय २० किलो बढी गाँजा, १९ किलो बढी चरेस, ४ किलो बढी हेरोइन, करिब ८ किलो अफिम, ३३ ग्राम बढी कोकिन तथा ११ किलो बढी पोलेन रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यसैगरी, नियन्त्रित लागुऔषधतर्फ डाईजेपाम २ हजार ८ सय ९५ एम्पुल, फेनारगन २ हजार ८ सय ४५ एम्पुल, बुप्रेनोर्फिन २ हजार ९ सय २९ एम्पुल, ट्रामाडोल २ लाख ३ हजारभन्दा बढी ट्याब्लेट, नाइट्राभेट २ हजार ५ सय ४१ ट्याब्लेट र स्पास्मो २१ हजारभन्दा बढी ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले लागुऔषध कारोबार लगायत यस गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय र देशभरका प्रहरी इकाइहरूलाई सक्रिय बनाएको जनाएको छ। साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध उत्पादन, ओसारपसार र प्रयोगका नकारात्मक असरबारे जनचेतना फैलाउने अभियानसमेत सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी,देशभरबाट विभिन्न मुद्दाका २ हजार ३ सय १९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेकामध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय ६६ जना, कोशी प्रदेशबाट ३ सय २६ जना, मधेश प्रदेशबाट ७ सय ३० जना, बागमती प्रदेशबाट १ सय ९९ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, लुम्बिनी प्रदेशबाट ३ सय ३० जना, कर्णाली प्रदेशबाट ६८ जना तथा सुदूरपश्चिम प्रदेशबाट ८४ जना रहेका छन्।

वैशाख महिनाको अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई अदालतले तोकेको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रुपैयाँ जरिवाना असुलउपर गरिएको छ। कर्तव्य ज्यान, लागुऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको पनि प्रहरीले उल्लेख गरेको छ।

यस्तै हातहतियारतर्फ प्रहरीको कारबाहीमा काठमाडौं उपत्यकाबाट ३ जना, कोशी प्रदेशबाट १ जना, मधेश प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना तथा सुदूरपश्चिम प्रदेशबाट ३ जना रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूबाट  एक थान चाइनिज पेस्तोल, एक थान पेस्तोल, एक थान रिभल्वर , २ थान कटुवा पेस्तोल,२१ थान भरुवा बन्दुक , एक थान बन्दुक १ थान तथा २ थान  एयरगन गरी जम्मा २९ थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी चाइनिज पेस्तोलको गोली १ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड तथा विभिन्न बन्दुकमा प्रयोग हुने ७० राउण्ड गोली समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अपराधमुक्त समाज निर्माण तथा अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी र प्रयोगकर्तालाई कानुनी दायरामा ल्याउन विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ। तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारमा अवैध हातहतियार प्रयोग हुने गरेको उल्लेख गर्दै प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभर अभियान सञ्चालन गरिरहेको बताएको छ। अवैध हतियार लुकाइराखेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन तथा अवैध हतियार बुझाउन समेत नेपाल प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १३:५७
प्रतिक्रिया दिनुहोस्