सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँके प्रहरीले अवैध रूपमा बोइलर कुखुरा ओसारपसार गर्ने गिरोहलाई नियन्त्रणमा लिँदै ओसारपसारमा प्रयोग गरिएका मोटरसाइकलसहित ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जेठ ६ गते १० बजे राप्ती सोनारी गाउँपालिका–४ कुमरस्थित सिंक सामुदायिक जंगलको बाटो प्रयोग गरी अवैध रूपमा बोइलर कुखुरा ल्याइरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा राप्ती सोनारी–३ बस्ने ३२ वर्षीय सागर खत्री र वडा नं. ४ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी रहेका छन्।
उक्त घटनामा प्रहरीले करिब ६ सय केजी (६ क्विन्टल) बोइलर कुखुरा बरामद गरेको छ, जसको अनुमानित मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको जनाइएको छ। साथै कुखुरा ढुवानीमा प्रयोग गरिएका चार थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ।
त्यसैगरी, जेठ ४ गतेदेखि हालसम्म नेपालगञ्जका विभिन्न स्थानबाट भन्सार छलि गरी ल्याइएका लत्ताकपडा, माउन्टेन ड्यू, कोक लगायत पेय पदार्थ, मोबाइलका पार्टपुर्जा, खाद्य तथा सुर्तिजन्य सामग्रीसहित करिब ४ लाख ३५ हजार २१० रुपैयाँ बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
उक्त सामानसँगै ढुवानीमा संलग्न एक थान साइकल समेत नियन्त्रणमा लिइएको छ।बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।