प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक बाँकेबाट पक्राउ

मंगलबार, जेठ ५, २०८३

बाँके । नेपाल प्रहरीमा भर्ना गराइदिने प्रलोभन देखाएर रकम असुल्ने एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–१ गुराँसे निवासी ३० वर्षीय लक्ष्मण बिक रहेका छन्। 

विभिन्न व्यक्तिहरूसँग प्रहरीको विभिन्न चरणको परीक्षा पास गराइदिने तथा जागिर सुनिश्चित गराइदिने आश्वासन दिएर पैसा उठाउने गरेको आरोपमा बिकलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दीपक पातलीले इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका बिकविरुद्ध ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको छ 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ०८:३०
प्रतिक्रिया दिनुहोस्