बाँके प्रहरीको सक्रियतामा १८७ प्रतिवादी पक्राउ, लागुऔषध विरुद्ध कडा कारबाही, २०५ मुद्दा दर्ता

सोमबार, जेठ ४, २०८३

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बैशाख महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। बाँके प्रहरी हाल प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको कमाण्डमा रहेको छ। एसपी जिसीको नेतृत्वमा बाँके प्रहरीले अपराध अनुसन्धान, नियन्त्रण, शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै उत्कृष्ट कार्यसम्पादन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

विशेषगरी लागुऔषध विरुद्धको कारबाहीलाई बाँके प्रहरीले तीव्र बनाउँदै आएको देखिएको छ। बैशाख महिनामा मात्र लागूऔषध सम्बन्धी ३५ वटा मुद्दा दर्ता भई ४८ जना पक्राउ परेका छन्। प्रहरीले ७३९ ग्राम ८८० मिलिग्राम ब्राउनसुगर, ३२० ट्याब्लेट नाइट्राजेपाम, १७४ क्याप्सुल ट्रामाडोल, ५० ग्राम १९० मिलिग्राम गाँजा, ४ ग्राम ६४० मिलिग्राम चरेश, १४ बोतल कोरेक्स र फेनरमाइन–५ एभिल बरामद गरेको जनाएको छ।

अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ उल्लेखनीय उपलब्धि

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैशाख महिनामा कुल २०५ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये जघन्य तथा गम्भीर अपराधका १० वटा र ६१ वटा विभिन्न प्रकृतिका मुद्दा रहेका छन् भने १३४ वटा सामान्य अपराधका मुद्दा रहेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९ वटा मुद्दामा ११ जना पक्राउ परेका छन्। आर्थिक अपराध सम्बन्धी ३४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

चालु मुद्दाका १८७ जना प्रतिवादी पक्राउ गरिएको छ भने सार्वजनिक चासो रहेका १९ वटा पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको जानकारी दिइएको छ। बैशाख महिनामा सम्पत्ति शुद्धीकरण सम्बन्धी १ वटा मुद्दा दर्ता भएको पनि प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयनतर्फ ७६ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये १० वर्ष २ महिना २० दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने रु. ४७ लाख २७ हजार ४३० बिगो तथा क्षतिपूर्ति असुल गरिएको प्रहरीले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी विवरण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी १०४ वटा उजुरी दर्ता भएका छन्। जसमध्ये ८३ वटा फर्छ्यौट  भएका छन् भने २१ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन्। उमेर समूहका आधारमा विश्लेषण गर्दा १८ देखि २५ वर्ष उमेर समूहका ३९ जना तथा २६ देखि ३९ वर्ष उमेर समूहका ६५ जना पीडित तथा पीडक रहेको प्रहरीले जनाएको छ।

हराएका तथा फेला परेका व्यक्तिहरूको विवरण अनुसार ३६ महिला, २५ बालिका, ७ बालक, १ ज्येष्ठ नागरिक पुरुष तथा ११ पुरुष हराएका थिए। जसमध्ये २३ महिला, १९ बालिका, ५ बालक, १ ज्येष्ठ नागरिक पुरुष तथा १० पुरुष फेला परेका छन्। अझै १३ महिला, ६ बालिका, २ बालक तथा १ पुरुष फेला पर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

घरेलु हिंसा तथा ठाडो उजुरी

घरेलु हिंसा सम्बन्धी ७४ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये अधिकांश झै–झगडासँग सम्बन्धित रहेका छन्। ५४ वटा घटनामा मिलापत्र गराइएको तथा अदालत पठाइएको प्रहरीले जनाएको छ।

ठाडो उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ४५८ वटा उजुरी परेकोमा ३४८ वटा फर्छ्यौट भएका छन् भने ११० वटा फर्छ्यौट हुन बाँकी रहेका छन्।

आत्महत्याका घटना

बैशाख महिनामा जिल्लामा ७ वटा आत्महत्याका घटना भएका छन्। सबै घटनामा झुण्डिएर आत्महत्या गरिएको प्रहरीले जनाएको छ। आत्महत्या गर्नेमा ४ पुरुष र ३ महिला रहेका छन्। उमेर समूह अनुसार २६–३५ वर्ष समूहका ६ जना तथा ४६–६० वर्ष समूहका १ जना रहेका छन्।

मुख्य आपराधिक घटनाको अनुसन्धान

गत महिनाको मुख्य घटनामध्ये नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा भएको हत्या घटनाको अनुसन्धानलाई प्रहरीले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

मिति २०८३ वैशाख २१ गते प्रितम अधिकारीको व्रतबन्ध कार्यक्रममा सहभागी भएका युवाहरूबीच सामान्य विवाद हुँदा घटना उग्र बनेको प्रहरीले जनाएको छ। विवादपछि दिपेन्द्र राज गिरीले कैलाली लम्कीचुहाबाट आफ्ना साथीहरू बोलाएका थिए। त्यसपछि बिहान करिब ५ बजे विशाल चन्द ठकुरी लगायतका व्यक्तिहरूमाथि बियरका बोतल तथा धारिलो हतियार प्रहार गरिएको थियो।

घटनामा गम्भीर घाइते भएका विशाल चन्द ठकुरीको उपचारका क्रममा मृत्यु भएको थियो भने अर्का घाइते योगेन्द्र कामी उपचारपछि डिस्चार्ज भएका थिए। घटनामा संलग्न फरार ४ जनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ स्थित नेपाली सेनाको चेकपोष्ट नजिकैबाट पक्राउ गरी कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

अपराध न्यूनीकरणका लागि सचेतना कार्यक्रम

अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायमा १०७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ। उक्त कार्यक्रमबाट १ हजार ७१९ पुरुष तथा ७७६ महिला लाभान्वित भएका छन्।

शान्ति सुरक्षा तथा प्रहरी परिचालन

बैशाख महिनामा ९९२ पटक पिकेट परिचालन गरिएको छ भने ५ हजार १२७ वटा ग्रामीण गस्ती, ९ वटा ग्रामीण गस्ती  तथा ९६९ पटक चेकिङ सञ्चालन गरिएको छ।

विशेष परिस्थितिमा २ वटा घटनामा ६९ जना प्रहरी कर्मचारी परिचालन गरिएको जानकारी दिइएको छ। बन्द, चक्काजाम, जुलुस, मूर्ति विसर्जन, मेला तथा जात्रामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरी परिचालन तथा कारबाहीका क्रममा कुनै मानवीय वा भौतिक क्षति नभएको जानकारी दिइएको छ।

सवारी दुर्घटना तथा ट्राफिक कारबाही

बैशाख महिनामा २० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २९ वटा सवारी साधन संलग्न रहेका थिए। दुर्घटनामा ४ जनाको मृत्यु भएको तथा १८ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनाको मुख्य कारण चालकको लापरवाही रहेको देखिएको छ। १९ वटा दुर्घटना चालकको लापरवाही तथा १ वटा मापसेका कारण भएको जानकारी दिइएको छ।

ट्राफिक चेकिङका क्रममा २ हजार ७८ वटा सवारी साधनमाथि कारबाही गरिएको छ भने रु। १८ लाख ६२ हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

अवैध हातहतियार, भन्सार छली तथा प्राकृतिक स्रोत नियन्त्रण

प्रहरीले १ थान प्रहरीले १ थान पावर ग्लोबस एयर पेस्तोल (५.५) ०.२२  बरामद गरी ४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

भन्सार छली नियन्त्रणतर्फ रु.४८ लाख ५७ हजार १११ बराबरका सामान बरामद गरिएको छ। यस क्रममा ३ जना व्यक्ति तथा ४ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा २९ वटा सवारी साधन नियन्त्रणमा लिई रु. १ लाख ५३ हजार दण्ड जरिवाना गरिएको जानकारी दिइएको छ।

अवैध पशुपंक्षी चोरी पैठारी नियन्त्रणतर्फ ७७२ किलो मासु तथा ५ हजार ४४० वटा कुखुराका चल्ला बरामद गरिएको छ। यसबाट रु. ८ लाख ६ हजार ९०० राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

अवैध वन पैदावार नियन्त्रणतर्फ १०.२५ क्युफिट साल र ३१.२४ क्युफिट सागुन काठ बरामद गरिएको छ। उक्त प्रकरणमा २ जना पक्राउ परेका छन् भने रु.१ लाख ३० हजार ५७० राजस्व संकलन भएको जानकारी दिइएको छ।

विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित कार्यक्रम

बैशाख महिनामा १७ वटा विपद्का घटनामा प्रहरीले १२५ जना प्रहरी परिचालन गरेको जनाएको छ। विपद्बाट रु.५५ लाख ७८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

समुदाय तथा विद्यालय केन्द्रित १०१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा १ हजार ५५४ पुरुष तथा ६३८ महिला सहभागी भएका थिए। विद्यालय लक्षित ६ वटा कार्यक्रममा ५२ बालक तथा ९६ बालिका सहभागी भएका प्रहरीले जनाएको छ।

सेवा प्रवाह तथा सार्वजनिक सुनुवाइ

नागरिकता, हतियार नवीकरण तथा अन्य कागजातका लागि १५६ वटा नागरिकता सम्बन्धी तथा ३४ वटा अन्य मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ।

प्रहरी हटलाइन तथा डिआरको सम्पर्क नम्बरमा ३ हजार ६९१ वटा कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमा २५८ जना सेवाग्राही दर्ता भएका छन्।

सार्वजनिक तथा नागरिक सुनुवाइ कार्यक्रम २ वटा सञ्चालन गरिएको प्रहरीले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ स्थित वडा प्रहरी कार्यालय तथा नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित वडा कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ७९ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा नियमित गस्ती बढाउनुपर्ने, प्रहरी कर्मचारीको बोलीचालीमा सुधार ल्याउनुपर्ने, ट्राफिक चेकिङलाई व्यवस्थित बनाउनुपर्ने तथा समुदाय–प्रहरी साझेदारीमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव उठेको प्रहरीले जनाएको छ।

त्यसैगरी सीमान्तकृत, अल्पसंख्यक तथा पिछडिएका वर्ग लक्षित २ वटा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले एसपी अंगुर जिसीको नेतृत्वमा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान तथा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्