सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कपिलवस्तु । बलात्कारसम्बन्धी मुद्दा गाउँमै मिलापत्र गराउने प्रयास गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पीडित किशोरीकी आमा, एक पूर्ववडाध्यक्ष, मिलापत्रको कागज तयार गर्ने व्यक्ति तथा आरोपीका बुवा रहेका छन्।
प्रहरीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका क्षेत्रमा १९ वर्षीया किशोरीमाथि वैशाख २१ गते बलात्कार भएको भन्दै इलियास पठानविरुद्ध किटानी जाहेरी दर्ता गरिएको थियो। जाहेरी परेपछि आरोपी फरार भएका थिए भने प्रहरी उनको खोजीमा जुटिरहेको थियो।
अनुसन्धानकै क्रममा वैशाख २७ गते पीडित पक्ष र आरोपी पक्षबीच गाउँमै मिलापत्र भएको कागजसहित केही व्यक्तिहरू प्रहरी कार्यालय पुगेका थिए। सो क्रममा प्रहरीले पीडित किशोरीकी आमा र पूर्ववडाध्यक्षलाई नियन्त्रणमा लिएको थियो।
सोधपुछका क्रममा घटनालाई दबाउन जग्गासम्बन्धी विवादको बहाना बनाएर मिलापत्र गराइएको खुलेको प्रहरीको भनाइ छ। त्यसपछि आरोपीका बुवा मोहम्मद सफिक पठानलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीबाट एक लाख तीन हजार पाँच सय ५० रुपैयाँ बरामद भएको बताइएको छ। मिलापत्रको कागज तयार गर्ने रामवृक्ष कोहरलाई समेत नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी मुद्दामा पीडितलाई प्रभावमा पारेर मिलापत्र गराउने कार्यमा संलग्न रहेको आरोपमा चारै जनामाथि अनुसन्धान भइरहेको छ। अदालतले प्रारम्भिक अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।
प्रहरी स्रोतका अनुसार बलात्कार मुद्दा मिलाउने सहमतिस्वरूप १० लाख रुपैयाँ बढी दिने लिखित कागज समेत बनाइएको थियो। साथै कागजमा उल्लेख गरिएको रकमभन्दा बढी रकम मौखिक रूपमा दिने समझदारी भएको हुनसक्ने प्रहरीको अनुमान छ।