टिकटकमा हतियार प्रदर्शन गर्दै जनमानसमा आतंक फैलाउने दुई जना बाँके प्रहरीको नियन्त्रणमा

मंगलबार, वैशाख २२, २०८३

बाँके। सामाजिक सञ्जालमार्फत हतियार प्रदर्शन गरी सर्वसाधारणलाई त्रसित बनाउने गतिविधिमा संलग्न रहेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ निवासी ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ निवासी २६ वर्षीय अनिल खटिकलाई नियन्त्रणमा लिइएको हो।

उनीहरूले क्रमशः ‘अजय मगर’ र ‘अनिल सोनकर’ नामका टिकटक आईडी प्रयोग गरी हातमा खुकुरी बोकेको भिडियो सार्वजनिक गर्दै जनमानसमा डरत्रास फैलाउने खालका सामग्री पोस्ट गरेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै जनामाथि साइबर अपराधसहित अन्य सम्बन्धित कसुरमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक सञ्जालमा आपराधिक वा त्रास सिर्जना गर्ने सामग्री प्रकाशन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता गतिविधिमाथि कडा निगरानी राखिएको र दोषीमाथि कानुनी कारबाही गरिने चेतावनी समेत प्रहरीले दिएको छ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  ०९:४१
प्रतिक्रिया दिनुहोस्