सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रहरीले एउटै विमानस्थलबाट एक दिनको फरकमा ठुलो परिमाणको लाखौं रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
विराटनगर विमानस्थलबाट श्री एयरलाइन्सको उडानबाट शनिबार दिउँसो साढे ३ बजे काठमाडौँ जान तयारीमा रहेका ३६ वर्षीय भारतीय नागरिक मोहिदिल अलिलाई प्रहरीले १५ लाख ९८ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ।
भारतको माल्दा जिल्लाको सुजागञ्जका अलिको झोलाको जाँच गर्दा उक्त परिमाण नगद रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीसँग रकम बारे स्रोत खुलाउन बाटो दिएपनि अलि असफल बन्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यसैगरी विराटनगर विमानस्थलबाटै प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। विराटनगर विमानस्थलबाट सुनसरीको धरान उपमहानगरपालिका–१८ बस्ने ३५ वर्षीय दिलीप तामाङलाई प्रहरीले ११ लाख रुपैयाँसहित पक्राउ गरेको थियो।
शुक्रबार राति विमानस्थल सुरक्षा गार्डसहित खटिएको प्रहरीले बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त रकम फेला पारेको थियो। रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीले दुबै घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।