सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ पिन्ट रगत संकलन भएको छ । “रक्तदान जीवनदान” भन्ने नारासहित जिल्लामा देखिँदै आएको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा ८४ जनाले रक्तदान गरेको जानकारी संयोजक दन्त चिकित्सक डा। प्रतिक श्रेष्ठले दिए । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा विशेषगरी युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
नगर सभापति नवीन खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य शुष्मा स्वर्णकार, क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन डा। श्रेष्ठसँगै किरण कुमार श्रेष्ठ र सौरभ कर्माचार्यले गरेका थिए । संयोजक डा। श्रेष्ठले मानव जीवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । युवाहरूको सक्रिय सहभागिताले अभियान सफल भएको महसुस भएको उनले उल्लेख गरे ।
बाँकेका विभिन्न अस्पतालहरूमा पश्चिम नेपालका जिल्लाबाट उपचारका लागि आउने बिरामीको चाप उच्च रहे पनि माग अनुसार रगत संकलन हुन नसक्दा बेला–बेलामा रगत अभाव हुने गरेको छ । यस्ता कार्यक्रमले रक्त अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।