भेरी अस्पतालका चिकित्सक असुरक्षित: चिकित्सकको आन्दोलनपछि ओपिडी सेवा बन्द

बुधबार, वैशाख १६, २०८३

नेपालगञ्ज । दोषीमाथि कारवाही र सुरक्षाको पूर्ण ग्यारेन्टीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि आज पनि भेरी अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ निवासी ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर आफन्तहरुले अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे लगायतका चिकित्सकहरुमाथि हातपातको प्रयास, ज्यान लिने धम्की, दुव्र्यवहार गरेपछि मंगलवारदेखि चिकित्सकहरु ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

अस्पतालले घटनामा संलग्न दुई जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिइसकेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ अनुसार पक्राउ गरी कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको मेसु डा. सुवेदीले बताए । उनीहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही हुनुपर्ने र स्वास्थ्यकर्मीहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा फर्किने अवस्था नरहेको सुवेदीले बताए ।

गएको बैशाख ६ गते अस्पतालमा भर्ना भएकी विकको १३ गते उपचारका क्रममा मृत्यु भएको थियो । आफन्तहरुले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको दावी गर्दै आएका छन् । उनीहरुले पनि उपचारमा संलग्न चिकित्सकमाथि कारवाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

भेरी अस्पतालमा चिकित्सकहरुमाथि भएको घटनाको चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ भेरी शाखाले पनि भत्र्सना गरेको छ । दोषीहरुलाई पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको छ । आज बेलुकासम्म माग माग सम्वोधन नभए संघमा आवद्ध सम्पूर्ण सरकारी, निजी अस्पताल, क्लिनिकको इमरजेन्सी बाहेकका सेवाहरु वन्द गर्ने शाखा अध्यक्ष डा.रुपानन्द अधिकारीले बताए। भेरी अस्पतालको ओपीडी सेवा वन्द भएपछि बिरामीहरु भने मर्कामा परेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्