भेरी अस्पताल घटनाप्रति नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

बुधबार, वैशाख १६, २०८३

बाँके । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक बिरामीको निधनपछि उत्पन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।संघका अध्यक्ष जागेश्वर बस्नेतद्वारा जारी विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, यस दुःखद घडीमा परिवारले भोगेको पीडाप्रति पूर्ण संवेदनशील रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा घटनापश्चात केही व्यक्तिहरूले अस्पताल परिसरमा पुगेर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, गालीगलौज र धम्की दिएको तथा सामाजिक सञ्जालमार्फत अभद्र अभिव्यक्ति सार्वजनिक गरिएकोप्रति आपत्ति जनाइएको छ। यस्तो गतिविधि निन्दनीय भएको संघले ठहर गरेको जनाएको छ।

संघले बिरामी उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले आफ्नो ज्ञान, सीप र उपलब्ध स्रोतको अधिकतम प्रयोग गर्दै जीवन रक्षा गर्न प्रयास गर्ने गरेको उल्लेख गर्दै सबै बिरामी निको भएर फर्किन नसक्ने यथार्थलाई संवेदनशील रूपमा बुझ्न आग्रह समेत गरेको छ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि दुर्व्यवहारले सेवा प्रवाहमा नकारात्मक असर पार्ने भन्दै संघले यस्ता गतिविधि अस्वीकार्य हुने स्पष्ट पारेको छ।

घटनामा संलग्नमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) अनुसार कडा कारबाही गर्न तथा स्वास्थ्य संस्थामा सुरक्षित र भयरहित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग संघद्वारा माग गरिएको छ।

साथै, सम्पूर्ण सरोकारवाला र सर्वसाधारणलाई घटनालाई संयमता र यथार्थपरक दृष्टिकोणबाट हेर्दै स्वास्थ्य संस्थाको गरिमा कायम राख्न सहयोग गर्न नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले आग्रह गरेको छ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्