सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । आफूलाई सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई बाँके प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडित नारायण शर्मामाथि गलत आरोप लगाउने गतिविधिमा संलग्न रहेको आरोप रहेको छ ।उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो।
गत बैशाख ३ गते बिहान नेपालगञ्ज उपमहानगरपालिका–१० बिन्देवासिनी टोलमा शिक्षक नारायण प्रसाद शर्मामाथि आक्रमण भएको थियो। प्रहरीका अनुसार केहि बालबालिकाले शर्माजो घर अगाडि बाख्रा चराउँदा बारीमा बाख्राले अन्नबाली खाएपछि शर्माले एक बाख्रा नियन्त्रणमा लिएका थिए। त्यसपछि बाख्रा लिन आएकी बालिकालाई अभिभावक बोलाएर जिम्मेवारीसाथ बुझ्न भनिएको थियो।
तर केही समयपछि करिब ३०–३५ जनाको समूह घरमै प्रवेश गरी ढुंगा, इँटा तथा घरेलु औजार प्रयोग गरेर कुटपिट र तोडफोड गरेको प्रहरीले जनाएको छ। घटनामा शर्मा गम्भीर घाइते भएका छन् र उनको हातको शल्यक्रिया गरिएको छ।
पीडित शिक्षक शर्मा
प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनापछि मिलापत्र गराउने भन्दै कठिट अभियन्ता रुबी खानले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी दबाब दिँदै अन्य व्यक्तिहरूलाई त्यहाँ पठाएकी थिइन्। घाइते शर्माको शल्यक्रियाका कारण उनी उपस्थित हुन नसकेको अवस्थामा प्रहरीले शर्माको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो।
त्यसपछि खानले शर्माविरुद्ध गम्भीर आरोपसहित प्रतिजाहेरी दिन खोजेकी थिइन्। उक्त जाहेरीमा एक बालिकालाई जबरजस्ती शौचालयमा थुनेको र बालिकाकी आमामाथि कुटपिट गरेको आरोप लगाइएको थियो। तर प्रारम्भिक अनुसन्धानमा शर्मा नै पीडित देखिएपछि उक्त जाहेरी दर्ता नगरेको प्रहरीले जनाएको छ।
खानको पक्षको प्रतिजाहेरी दर्ता नभएपछि खानले पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख एसपी अंगुर जिसी लगायत शर्मालाई लक्षित गर्दै कारबाहीको माग गरेकी थिइन्।
यसैबीच, शर्मा नै पीडित रहेको देखिएपछि पनि खानले बैशाख ८ गतेदेखि असम्बन्धित महिलाहरूलाई भेला पारेर जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गराएको आरोप छ। उनले “एसपी अंगुर जिसी र स्वयं पीडित शर्मालाई कारबाही गर” भन्ने नारा लगाउन उक्साएको तथा प्रहरी प्रमुखमाथि आधारहीन आरोप लगाउँदै गलत प्रचार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार खानलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।