लागुऔषधविरुद्ध बाँके प्रहरीको 'स्वीप अपरेसन': एकैरातमा १११ पक्राउ,२७५ ग्राम ब्राउन सुगर बरामद

बिहीबार, वैशाख १०, २०८३

बाँके । बाँके प्रहरीले लागुऔषधरहित समाज बनाउने उद्देश्यका साथ लागुऔषधविरुद्ध विशेष  'क्लीन स्वीप अपरेसन' सन्चालन गरेको छ। बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको निर्देशनमा गएराति  गरिएको लागुऔषधविरुद्धको स्वीप अपरेसनमा १ सय ११ जनालाई पक्राउ गर्दै २७५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।

बाँके जिल्लाकै इतिहासमा यति ठुलो संख्या बाँके प्रहरीले एकैरातमा लागुऔषध कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गरेको पहिलो घटना हो।

जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख एसपी जिसीले लागुऔषधविरुद्धको स्वीप अपरेसनमा पक्राउ परेकाहरुमध्ये  धेरैजसो कारोबारी , कतिपय खरिदकर्ता र अन्य सेवनकर्ता रहेको बताए। प्रहरीको अपरेसनमा पक्राउ पर्नेहरूमा नेपालगन्ज  क्षेत्रबाट सबैभन्दा बढी ९९ जना रहेकोर  कोहलपुरबाट २० रहेको एसपी जिसीले जानकारी दिएका छन् ।  

एसपी जिसीका  अनुसार नियन्त्रणमा परेकामध्ये लागुऔषध कारोबारीलाई लागुऔषध कारोबार ऐन अन्तर्गत कडा मुद्दा चलाइने छ भने लागुऔषध सेवन गर्दै गर्दा समातिएका सेवनकर्तालाई परिवारसँग सल्लाह गरेर रिहाब सेन्टरमा पठाइने भएको छ । यसैगरी अन्य केही पहिलो पटकका सेवनकर्ताको हकमा उनका परिवार तथा अभिभावकलाई बोलाएर उनीहरुसँगै लागुऔषधविरुद्धको काउन्सिलिङ दिइने भएको छ। उनीहरुलाई पहिलो पटकका लागि सम्झाइबुझाइ गर्ने र भविष्यमा यस्ता कार्य नगर्ने प्रतिबद्धतासहित काउनिस्लिङपछि परिवारको जिम्मा लगाइने छ।

एसपी जिसी भन्छन् -' पहिला उनीहरुको पुरानो विवरण हेरेपछि मात्र यो निर्णय गरिनेछ। यदि पहिला पनि लागुऔषध कारोबार तथा सेवन गरेको उनीहरुविरुद्धको मुद्दा भेटिए सोही अनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ।'

समाजका लागि कुत्त्व र युवाहरुको भविष्य नै बिगार्ने लागुऔषधविरुद्धको अपरेसन निरन्तर चलिरहने एसपी जिसी बताउँछन् । जिसी उनै जिल्ला प्रहरी प्रमुख हुन् जसको अथक मेहनतले बाँके प्रहरी गत चैत महिनामा देशभरमै उत्कृष्ट बन्न सफल भएको हो। बाँके प्रहरीले काठमाडौं र ललितपुर प्रहरी परिसरलाई समेत उछिन्दै देशभरमै प्रथम हुन सफल भएको हो।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १४:००
प्रतिक्रिया दिनुहोस्