सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके देशभरमै उत्कृष्ट जिल्ला बन्न सफल भएको छ। बाँके प्रहरी ‘सर्वोत्कृष्ट कार्यसम्पादन’तर्फ पहिलो स्थान हासिल गर्न सफल भएको हो। प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीको नेतृत्वमा बाँके प्रहरीले काठमाडौँ र ललितपुरजस्ता प्रमुख जिल्लालाई समेत पछि पार्दै चैत महिनामा उत्कृष्टता हासिल गरेको हो।
नेपाल प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, सुरक्षा व्यवस्थापन र न्याय सम्पादनमा बाँके प्रहरीले गरेको प्रभावकारी कार्यको मूल्यांकन गर्दै उक्त जिल्लालाई देशकै उत्कृष्ट जिल्ला घोषणा गरेको जनाएको छ।
एसपी जिसीको नेतृत्वमा जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउन प्रभावकारी रणनीति अवलम्बन गरिएको थियो। विशेषगरी संगठित अपराध नियन्त्रण, लागुऔषध विरुद्धको कारबाही, फरार अभियुक्त पक्राउ तथा अनुसन्धान प्रक्रियामा तीव्रता ल्याउने कार्यमा उल्लेखनीय प्रगति भएको स्पष्ट देखिएको छ। स्थानीय तह, प्रशासन र समुदायसँग समन्वय गर्दै सुरक्षा व्यवस्थालाई व्यवहारिक र परिणाममुखी बनाउने बाँके प्रहरीको प्रयास सफल देखिएको छ।
त्यसैगरी, नागरिकमैत्री प्रहरी सेवालाई प्राथमिकता दिँदै सेवाग्राहीमैत्री वातावरण निर्माण, समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन तथा जनचेतनामूलक गतिविधिमा विशेष जोड दिइएको थियो। यसले प्रहरी–नागरिक सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको मूल्यांकन गरिएको छ।
बाँकेबासीले एसपी जिसीको नेतृत्वमा प्रहरीको कार्यसम्पादनप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा पनि नागरिकलाई सुरक्षित अनुभूति दिलाउने, पीडितलाई न्याय दिलाउने र अपराधीलाई कानुनी दायरामा ल्याउने कार्य अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन्।
वर्तमान प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको कमाण्ड सम्हालेसँगै सर्वोत्कृष्ट कार्य गर्ने जिल्लालाई देशमै उत्कृष्ट घोषणा गर्ने निर्णय लागू गरेका थिए। प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार मूल्यांकनका आधारमा उत्कृष्ट बनाइने भएकाले जिल्ला कमाण्ड गर्ने अधिकारीहरू आफ्नो कार्यसम्पादन सुधारतर्फ केन्द्रित हुने र यसले समग्र रूपमा राम्रो काम हुन मद्दत गर्ने गर्दछ।
कम मूल्यांकन आएमा जिल्ला कमाण्ड गर्ने अधिकारीलाई कारबाहीसमेत हुन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै यस्तो प्रणालीले राम्रो काम गर्ने प्रहरी अधिकृतको मनोबल बढाउने विश्वास लिइएको छ।
बाँके जिल्ला ‘क’ वर्गका संवेदनशील जिल्लामध्ये पर्ने भएकाले यस्तो जिल्लाको सफल कमाण्ड गर्दै देशकै उत्कृष्ट जिल्ला बन्न सफल हुनु निकै महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले एसपी जिसीको नेतृत्व अत्यन्त प्रभावकारी र उत्कृष्ट रहेको स्पष्ट देखाएको छ भने लुम्बिनी प्रदेश प्रहरीका कमाण्डर प्रहरी नायब महानिरीक्षक (डीआईजी) भुपेन्द्र खत्रीको स्पष्ट निर्देशन र सफल प्रदेश कमाण्डलाई पनि यस उपलब्धिको श्रेय दिनुपर्ने देखिन्छ।
बाँके प्रहरीको यस उपलब्धिले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउने र बाँकेबासीको सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।