बाँकेबाट लागुऔषधसहित ६ कारोबारी प्रहरीको नियन्त्रणमा

सोमबार, वैशाख ७, २०८३

बाँके। बाँकेका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।  बाँके प्रहरीले गरेको लागुऔषधविरुद्धको कारबाहीमा नेपालगन्ज उपमहानगरपालिका  र जानकी गाउँपालिका क्षेत्रबाट एक किशोरसहित ६ जनालाई पक्राउ गरिएको बाँके  प्रहरीले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२० स्थित आयल निगम नजिकबाट राप्तीसोनारी गाउँपालिका–२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर विकलाई २ ग्राम २९ मिलिग्राम ब्राउनसुगरसहित आइतबार राति पक्राउ गरिएको हो।

त्यसैगरी, जानकी गाउँपालिका–६ ओडारपुरबाट नेपालगन्ज उपमहानगरपालिका–२० बस्ने १८ वर्षीय किशोरलाई २ सय ४० मिलिग्राम ब्राउनसुगरसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी गनापुरबाट खटिएको टोलीले गरेको थप अनुसन्धानका क्रममा जानकी गाउँपालिका–६ बस्ने २९ वर्षीय राहुल बर्माको घरमा तलासी गर्दा ५ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ। सोही क्रममा राहुल बर्मासहित लागूऔषध खरिद गर्न आएका नेपालगंज–२० बस्ने ४२ वर्षीय जाकिर कुर्मी र ३० वर्षीय साहरूख खान बेहनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी  कार्यालय बाँकेले जनाएको  छ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीपुरबाट ३३ वर्षीय अकबर अलीलाई १ सय ६० मिलिग्राम ब्राउनसुगरसहित आइतबार साँझ पक्राउ गरिएको  हो। अकबरलाई इलाका प्रहरी कार्यालय हिरमिनियाले पक्राउ गरेको हो।

पक्राउ परेकाहरूविरुद्ध बाँके प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्