सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालले विगत केही वर्षदेखि आँखा उपचार सेवामा उल्लेखनीय प्रगति गरेको तथ्यांकले देखाएको छ । अस्पतालमा बिरामी परीक्षण र शल्यक्रियाको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०४२-०४३ देखि २०८१-०८२ सम्म कुल २९ लाख २९ हजार ५६३ बिरामीको आँखा परीक्षण गरिएको छ । यही अवधिमा २ लाख ९१ हजार ५३३ सफल शल्यक्रिया सम्पन्न भएका छन् ।
अस्पतालले समुदायस्तरमा सेवा विस्तार गर्दै आँखा शिविरमार्फत बिरामी परीक्षण, निःशुल्क शल्यक्रिया तथा चश्मा वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयस्तरमा सञ्चालन गरिएका आँखा जाँच कार्यक्रममार्फत विद्यार्थीहरूको दृष्टि स्वास्थ्य सुधारमा समेत योगदान पुर्याइएको छ ।
तथ्यांक अनुसार विभिन्न वर्षहरूमा हजारौं बिरामीले शिविरमार्फत सेवा लिएका छन् भने सयौं बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । साथै, हजारौंको आँखा परीक्षण गरी आवश्यक परेकालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।
अस्पतालको आँखा उपचार केन्द्रमा आर्थिक वर्ष २०६७-६८ देखि २०८१-८२ सम्म कुल १ लाख ३८ हजार ५३५ जना बिरामीको परीक्षण गरिएको तथ्यांकमा उल्लेख छ । यही अवधिमा ५ हजार १९७ निःशुल्क चश्मा वितरण गरिएको तथ्यांक छ ।
अस्पतालका अनुसार, दुर्गम तथा विपन्न समुदायसम्म सहज पहुँच पुर्याउने लक्ष्यसहित सेवा विस्तार गरिँदै आएको छ । पछिल्ला वर्षहरूमा सेवाग्राहीको विश्वास बढ्दै जाँदा अस्पताल क्षेत्रीय स्तरमै महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।