नायब सुब्बा घुससहित अख्तियारको नियन्त्रणमा

शनिबार, चैत २८, २०८२
Honor 600 pro

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत एक कर्मचारी घुससहित पक्राउ गरेको छ। विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा होमबहादुर मनाङीलाई अख्तियारटोलीले नियन्त्रणमा लिएको हो।

३८ वर्षीय मनाङीमाथि वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको आरोप लागेको थियो। सोही उजुरीका आधारमा अख्तियारले निगरानी बढाएको थियो।

शुक्रबार साँझ सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई विभाग परिसरभित्रैबाट पक्राउ गरिएको जनाइएको छ। अनुसन्धान शाखा रहेको कम्पाउन्डभित्रको शौचालयबाट बाहिर निस्कने क्रममा, सेवाग्राही प्रतिक्षालय नजिकै उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउका क्रममा उनको साथबाट स्रोत नखुलेको थप ७७ हजार ६०० रुपैयाँ पनि बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्