लागुऔषध मुद्दाका दोषी ८१ वर्षीय फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

सोमबार, चैत २३, २०८२

दाङ । प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई २३ वर्षपछि समात्न सफल भएको छ।

लागुऔषध मुद्दामा दोषी ठहर भई ४ वर्ष कैद सजाय पाएका रोल्पाको थवाङ गाउँपालिका–४ थापल खर्कका ८१ वर्षीय कुलबहादुर घर्तिमगरलाई २३ वर्षपछि रोल्पा प्रहरीले पक्राउ गरेको जनाइएको छ।

प्रहरीका अनुसार  कपिलवस्तु अदालतले कुलबहादुरलाई  वि.सं. २०५९ फागुन १८ गते लागुऔषध मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। अदालतको उक्त फैसला पश्चात् फरार रहेका कुलबहादुरलाई  लामो समयको अन्तरालपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका कुलबहादुरलाई आवश्यक कारबाहीका लागि रोल्पा जिल्ला अदालतमा पेश गरिएपछि अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्