सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित कोरियनपुरमा २२ वर्षीया सिर्जना बुढामगरको शरीरमा आगलागी भएर मृत्यु भएको घटनालाई लिएर बाँके प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ। यसका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली गठन गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न समूहगत रूपमा अनुसन्धान अघि बढाइएको हो। टोलीमा प्रहरी निरीक्षक, नायब निरीक्षकलगायतका अधिकारीहरू संलग्न छन्। सङ्कलित प्रमाण र तथ्यका आधारमा १० दिनभित्र प्रतिवेदन तयार गरी प्रहरी उपरीक्षक अङ्गुर जिसीसमक्ष पेश गर्ने योजना रहेको छ।
घटना शनिबार राति भएको हो। नेपालगन्ज उपमहानगरपालिका–१२, नर्सिङ होम पछाडि सडकमा गम्भीर रूपमा जलेको अवस्थामा भेटिएकी बुढामगरलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट बुढामगर लामो समयदेखि मोहम्मद आरिफ ढपालीसँग लिभिङ टुगेदरमा बस्दै आएको खुलेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ढपाली, उनकी आमा र दिदीलाई पक्राउ गरिसकेको छ। ढपालीलाई भारतको बहराइचबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई नेपालगन्जबाट नियन्त्रणमा लिइएको छ।
पीडित पक्षले दिएको जाहेरीका आधारमा घटनामा संलग्न भनिएका पाँच जनामध्ये अझै दुई जना फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीकार्य जारी रहेको छ।