काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ

मंगलबार, चैत १७, २०८२

काठमाडौं ।बकाठमाडौंका पूर्व सीडीओ छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई काठमाडौंको सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिएको हो। सो कार्यालयका एसएसपी सन्तोष खड्का ले पक्राउको पुष्टि गरेका छन्।

रिजाल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए। उक्त घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार “हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने” कसुरमा अनुसन्धान तथा अभियोजन गर्न सुझाव दिएको थियो। यस कसुरमा दोषी ठहर भए अधिकतम तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

यसै प्रकरणमा यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लाई पनि पक्राउ गरिसकिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्